मानव सभ्यताको सुरुदेखि नै पहिचानवादी वैयक्तिक वा सामाजिक पहिचान दिने परम्परा चलिआएकै छ । अहिलेको समाजले आ–अफ्ना धार्मिक, सांस्कृतिक एवं वैज्ञानिक क्षेत्रमा स्थापित व्यक्तित्वको परिचय दिएर तीनै व्यक्तित्वमार्फत आ–आफ्नो समुदाय वा राष्ट्रको परिचय स्थापित गर्ने शैली व्याप्त छ । हामी अपवाद हुन सक्दैनौँ । ऐतिहासिक दृष्टिले सबैभन्दा पुरानो र हालको विश्वमा संख्यात्मक हिसाबले तेस्रो ठूलो धर्म मानिने वैदिक सनातन हिन्दू धर्म हाम्रो देशमा बहुसंख्यकले मान्छन् ।
यस्तो युगान्तकारी युगौँयुग टिक्न सक्ने विचारको प्रवाह गर्ने वैदिक दर्शनका प्रणेता भगवान्कै अवतार मानिने अठ्ठाइसौँ व्यासको जन्म हालको नेपालको तनहुँ दमौलीमा भएको पाइनु सानो कुरा होइन । भगवान् बुद्धको जन्म नेपालमै भएको थियो । यो सत्य–तथ्यलाई प्रमाणित गर्न हामीलाई निकै कसरत गर्नुपर्यो र आज हामी बुद्धको देश भनी गर्व गर्न पाएका छौँ । अब हामीले चार वेदका लिपिबद्धकार, अठार पुराणका स्मृतिकार एवं महाभारत, गीता, ब्रह्मसूत्र एवं उपनिषद् आदि ग्रन्थका प्रणेता वेदव्यासको प्राकट्य भूमिलाई विश्वसामु परिचय दिनुपर्ने वेला आएको छ ।
अहिले विश्वका केही मुलुकमा झन्झन् अग्ला मूर्ति बनाई धेरैभन्दा धेरै पर्यटक भित्र्रयाउने लहर नै चलेको देखिन्छ । यसका पक्ष÷विपक्षमा अनेक तर्क गर्न सकिएला । अठ्ठाइसौँ व्यासावतार श्रीकृष्ण द्वैपायन अवतरण भएको व्यासनगर शुक्ला माहेन्द्री नदीको तट, व्यास गुफा परिसरमा विश्वकै ध्यानाकर्षण गर्ने अभिप्रायले धार्मिक पर्यटनलाई मध्यनजर गरी वेदव्यासको एक सय आठ फिट उचाइको उभिएको पूर्णकदको मूर्ति प्रतिष्ठापन गर्न खोजिएको समयकै लहरको माग हो भन्नुपर्छ । हुन त कतिपयले पत्रपत्रिकालगायत अन्य सञ्चारमाध्यममार्फत मूर्ति बनाउने परम्पराको विरोध गरेका छन् ।
धर्म, संस्कृति र विज्ञानले संरक्षित समाज नै विकसित समाज हो । २०औँ शताब्दीका महान् वैज्ञानिक निकोला टेस्ला वैदिक धर्म र वेदान्त दर्शनबाट औधी प्रभावित थिए । आकाशबाट शक्ति प्रवाह हुन्छ भनेर वेदले उल्लेख गरेको कुरामाथि उनले अमेरिकाको कोलोराडोस्थित आफ्नै अनुसन्धान केन्द्रमा बसी धेरै अध्ययन र अनुसन्धान गरेका थिए । आकाशबाट शक्तिपात हुन्छ भन्ने जस्ता वैदिक मन्त्रको अध्ययन गर्दा विनातार आकाशबाट शक्ति प्रवाह हुन्छ भन्ने विषयले उनलाई विशेष प्रभाव पारेको थियो । यस्ता मन्त्रका संग्रहकर्ता भगवान् वेदव्यासको प्रकाट्य भूमिबारे प्रमाणित गर्न हामीले खोजेका छौँ । यो केवल हाम्रो दाबी मात्र नभई थुप्रै प्रमाणका साथ यो विषयलाई अघि सारिएको हो । वैदिक दर्शन आजको विश्वमा आकर्षित हुँदै गइरहेको छ । लिच्छवीकाललाई नेपालको स्वर्णयुग मानिनु पनि धेरै सांस्कृतिक कलात्मक मूर्ति एवं मन्दिरहरू स्थापना भई तात्कालीन विज्ञान र धर्मको उन्नयन हुनु नै हो ।
ब्रह्माण्डको उत्पत्ति कसरी भयो भन्ने कुराको अध्ययन गर्न स्थापना भएको स्विट्जरल्यान्डको सर्न (CERN) केन्द्रको अगाडि भगवान् शंकरको नटराज मूर्ति स्थापना गरिएको छ । ब्रह्माण्ड एउटा शक्तिको नाट्यस्वरूप(Cosmic Dance) हो भन्ने कुराको झल्को दिलाउन भगवान् शंकरको उक्त नटराज मूर्ति यस केन्द्रका अगाडि स्थापना गरिएको भनिन्छ । मूर्ति केवल कसैको प्रतिबिम्ब वा प्रतिमा मात्र नभई भूत भविष्यको अमूर्त संकेत गर्ने वर्तमान धरोहर पनि हो ।
फ्रान्सले उपहारस्वरूप सन् १८८६ मा दिएको अमेरिकाको न्युयोर्क सहरनजिकै समुद्री किनारको द्वीपमा स्थापित स्ट्याचु अफ लिबर्टी करिब ३०५ फिट उचाइको एक हात उठाएर मसाल लिएर उभिएको विशाल मूर्ति छ । स्ट्याटिस्टिक नेसनल पार्क कमिटी अमेरिकाले दिएको तथ्यांकअनुसार यो मूर्तिको अवलोकन गर्न दैनिक १० हजार मानिस आउने गर्छन् । यसबाट वार्षिक आय २६ करोड अमेरिकी डलर हुन्छ भनिएको छ । सन् २००८ मा निर्माण गरिएको चीनको स्प्रिङ टेम्पलमा बुद्धको एक सय २८ फिट उचाइको मूर्ति छ । निर्माणपछि २०१३ सम्म अवलोकन गर्न आउने पर्यटकबाट भएको आय करिब १९ करोड अमेरिकी डलर थियो भनिएको छ । चीनकै हेनान प्रान्तमा चार सय २० फिट उचाइको बुद्धकै मूर्ति स्थापित छ । यहाँ पनि दैनिक हजारौँको संख्यामा पर्यटक अवलोकन गर्न आउँछन् ।
पाँचौँ शताब्दीमा अफगानिस्तानको बामियानमा स्थापित गान्धारकलामा निर्मित बुद्धका दुई विशाल मूर्ति क्रमशः एक सय २१ र एक सय ८० फिट उचाइका थिए । सन् २००१ मा तालिवानले ध्वस्त पारेका ती मूर्तिको पुनर्निर्माण सन् २०१५ मा चाइनिज धनाढ्य दम्पति जिनयु झाङ र होङ लियाङले त्यही स्थानमा गरिदिएका छन् । थ्रिडी लेजर लाइट प्रविधिको प्रयोग गरी प्रकाशका माध्यमले पुरानो मूर्तिको झलक प्रकाशमा देखिने प्रविधिको स्थापना गरिदिएर सबैका लागि अवलोकन गर्न सकिने व्यवस्था मिलाइदिएका छन् । यो दृश्यावलोकन गर्न हजारौँ पर्यटकको ओइरो लागिरहन्छ ।
सन् १९९३ मा जापानमा ३३० फिट उचाइको अमिताभ बुद्धको मूर्ति प्रतिष्ठापन गरिएको छ । यो मूर्ति अवलोकन गर्न हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको विवरणले देखाएको छ । सन् २०१८ मा भारतको गुजरातमा स्थापित सरदार बल्लभभाइ पटेलको मूर्ति पाँच सय ९७ फिट उचाइको छ, जुन विश्वमै सबैभन्दा अग्लो भनिएको छ । जे होस्, यो मूर्ति अवलोकन गर्न खुला भएकै महिनामा तीन लाख पर्यटकले अवलोकन गरेका र एकै महिनामा ६ करोड ३० लाख भारतीय रुपियाँ आम्दानी भएको विवरण दिएको छ ।
हालसम्म ९८ फिटभन्दा अग्ला एक सय २९ मूर्ति विभिन्न देशमा बनिसकेका छन् । त्यस्ता मूर्तिमध्ये एउटा नेपालमा, ३५ चीनमा, २५ भारतमा र १९ वटा जापानमा छन् । बाँकी अन्य मुलुकमा छन् । कम्तीमा ९८ फिट उचाइ भएका अरू थप ३२ वटा मूर्ति विश्वका विभिन्न मुलुकमा बन्दै छन् । यी बनेका मूर्तिहरूको अध्ययन र तिनले समाजका लागि दिएको प्रतिफल हेर्दा नेपालमा व्यासजस्ता महान् व्यक्तित्वको विराट मूर्ति ठड्याउने भावना उठ्नु स्वाभाविक नै मान्नुपर्छ ।
यसरी विभिन्न मुलुकमा मूर्ति बनाउने प्रतिस्पर्धाजस्तै छ । अग्लाअग्ला मूर्ति भएका स्थान नै पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु भएको देखिएको छ । यस्ता मूर्तिले स्थानीय समाजलाई आर्थिक उपलब्धिमा महत्वपूर्ण टेवा पु-याउने एकातिर देखिन्छ भने पुरातत्व र संस्कृतिको प्रवद्र्धनमा यस्तो अभियान महत्वपूर्ण कोसेढुंगा हुनेछ ।
व्यासको एक सय आठ फिट उचाइको मूर्ति बनाएर संसारको ध्यानाकर्षण गराई यस स्थानलाई वैदिक दर्शनको अध्ययन केन्द्र एवं अन्तर्राष्ट्रिय तीर्थस्थल बनाउने लक्ष्य राखिएको छ । ‘भूत्यै न प्रमदितव्यं’ असल कार्य गर्नबाट कहिल्यै वञ्चित नहोऊ भन्ने वैदिक अनुशासनजस्तै हामी पनि आफ्नो धर्म, संस्कृतिको प्रवद्र्धन एवं प्रचार कार्यमा पछि पर्नुहुँदैन । यो मूर्ति निर्माण गर्न प्राविधिकहरूबाट गुरुयोजना र डिपिआर तयार भइसकेको छ ।
गुरुयोजनाअनुसार एक सय आठ फिट उचाइको व्यासको मूर्तिका अतिरिक्त लेखक गणेश र व्यासका शिष्यादिको साना मूर्ति बनाइनेछन् । पराशर सत्यवती डुंगा तर्दै गरेको झलक दिने मूर्ति र सरोवर, करिब एक हजारजना बस्न मिल्ने क्षमताको धर्मशाला, व्यास संग्रहालय, व्यास अध्ययन केन्द्र एवं पुस्तकालय पनि निर्माण गरिनेछन् । साथै, प्रवचन कक्ष, योग ध्यान कक्ष, पुष्प बाटिका, व्यास ग्राम, व्यास द्वार, व्यवस्थित एवं मर्यादित परिक्रमा पदमार्ग, चमेना गृह, आध्यात्मिक पसल र प्राचीनता झल्काउने विविध संरचना आदि प्रस्ताव गरिएका छन् । करिब ६० रोपनी जमिनमा बनाइने यी संरचनाका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, पर्यटकीय र आर्थिक महत्व भएकाले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको कर्तव्य हुन आउँछ ।